देशमा संघियता लागु भएको पनि धेरै भइसकेको छ । तर, जनतामा सरकारी कर्मचारी प्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको पाइदैन । धेरै जसो सर्वसाधारण कर्मचारीहरु भ्रष्ट हुन्छन्, जनतालाई दु:ख दिन्छन् भनेर सोच्ने गर्दछन् । अर्कोतिर कर्मचारीका पनि आफ्नै बेदना रहेका छन् । आज सरकारी कर्मचारीका परिवारको दु:ख पीडाकै विषयमा एउटा सत्य घटना तर पात्र फरक रुपमा प्रस्तुत गर्न गइरहेको छु । यहाँ मैले आफूलाई महिलाको रुपमा प्रस्तुत गरेको छु ।
हामी वैवाहिक बन्धनमा बाधिएको पनि दश वर्ष भइसकेको थियो । मेरा साथी, आफन्त, माइती, सबैले मेरो जिन्दगीको उज्यालो पक्ष मात्र देखे । उज्यालोसँग लुकेको अँध्यारो पाटो कसैले देखेका थिएनन्, अझ भनम देख्न चाहेनन् या प्रयास नै गरेनन् ।
आज विहानै पारिलो घाम लागेको थियो । भगेँरा र परेवाका जोडीहरू झ्याल बाहिर चिरबिराए । गौंथली पनि जोडी बाँधेर बसेका थिए । त्यो दृश्यले मेरो आधा ओठ हाँस्यो, आधा मन भाँचियो । विवाह अगाडिको सपना सम्झीए । म त्यतिबेला कति मीठो भ्रममा रहेछु ।
आज रमेशसँग विवाह गरेको दश वर्ष पूरा भयो । म आफैलाई अचम्म लाग्छ दश वर्ष मैले यो पिँजडाभित्र कसरी कटाई ? फेरि सोची विवाहको फोटोमा बाहेक म यो घरमा आएपछि कति पटक मुस्कुराएँ होला र ?
७ दिन देखि श्रीमानको अतोपत्तो थिएन । ७ दिन देखि बेखबर श्रीमानको बिम्ब आँखामा ठोक्कियो, किन हो कुन्नी मेरो मन आज भित्रै देखि दु:खी रह्यो । फोन गर्दा मोबाइल पनि अफ रहेछ । कति बिजी मान्छेसँग विवाह भएछ जसलाई आफ्नै विवाहको वर्षगाँठ समेत याद छैन भन्दै आखाँबाट बरबर आसुका धारा बग्न थाल्यो ।
मोबाइलमा एउटा मेसेज आयो । श्रीमानले मलाई सम्झनु भएछ भनेर म के खुसी भएकी थिए तर मेरा आसुका धारा रोकिने नामै लिएन । मैले त्यो मेसेज पाँच पटक पढी, विश्वास लागिरहेको थिएन् । त्यो सन्देश मोबाइलमा पठाउने मान्छे चिन्न सकिन । तर मेरा मुटुको धडकन छिटो छिटो चल्दै थियो । सायद मेरो प्राण त्यही जान्थ्यो होला तर नाबालक छोराछोरीको यादले म केहि सम्मालिए ।
आमासँग मन भरिने गरी रून मन लागेको थियो । तर फोन गरेर दु:ख सुनाउने विचार गरिन । ‘सानातिना कुरा माइतीमा नसुनाउनू, सहनशील हुनू, सबैको मन राख्नू’, भनेर आफ्नी आमाले दिएको उपदेश सम्झीए ।
२० वर्षकै उमेरमा रमेशसँग विवाह भएको थियो । विवाहको एक वर्षपछि श्रीमान् रमेश सरकारी जागिरे भए । मलाई पैसा पनि पठाइरहेका थिए । हप्तामा एक पटक घरमा पनि आउथे श्रीमान् । हाम्रो भेट नभएपनि दिनहुँ कुराकानी भइरहन्थ्यो ।
समय बित्दै जाँदा श्रीमानको सँगै काम गर्ने महिलासँग निकटता बढ्दै गयो । हाम्रो विवाहको दश वर्ष पश्चात श्रीमानले अर्की महिलासँग विवाह गर्न लागे भनेर झन् मेरो मुटु छिटो छिटो कुद्न लाग्यो । ८ वर्षका छोरा र ५ वर्षकी छोरी हुँदा हुँदै पनि मेरो श्रीमानको अरुसँग लसपस किन बस्न गयो ? भन्दै मेरो आफ्नै कमजोरी हो कि भन्दै आफैलाई धिकारे पनि ।
प्रेम विना त संसार चल्दैन । सच्चा प्रेमीले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । तर त्यो प्रेम निश्वार्थ हुनुपर्छ । ताकी दुई मुटु एक धड्कनको महसुस होस् । तर आज मेरो श्रीमानको प्रेमले किन आफ्नो छोरा छोरीलाई पनि सम्झीएन्, आफ्नै रगतलाई पनि विर्सियो ।
प्रेम दुई विपरित लिङ्गी बीचको मात्र होइन वास्तवमा प्रेम त परिवारसँग हुन्छ, साथीहरुसँग हुन्छ, अनि आफ्ना प्रियजनहरुसँग । तर आज मेरो श्रीमानको प्रेम अर्की महिलासँग बसेको छ । म यो दु:ख कसलाई भनौं ?
प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रेम त्यस्तो बनोस भोलिका समयमा जीवनलाई फर्केर नियाल्दा पश्चाताप होइन, खुसी र सन्तुष्टि फिजाउन पाइयोस् । जहाँ एक मनले अर्को मनको कदर गरेको होस् । मेरो श्रीमानको प्रेमलाई मैले कुन रुपमा हेरौं ।
भनिन्छ नि, “फूलको आँखामा फूलै संसार” । वास्तवमा भन्ने हो भने प्रेम यस्तो पवित्र चीज हो जसले जसलाई र जुन उमेरसँग पनि गर्न सकिन्छ तर त्यसमा प्राप्ति भन्दा आत्मियता, हार्दिकता सम्झौता र निस्वार्थ हुनुपर्दछ यही पनले मायालाई बचाइराखेको हुन्छ । तर, अब मेरा छोराछोरीको अवस्था कस्तो होला ?
हरेक मानिसको मनमा उमेर अनुसार एक प्रकारको प्रेमभाव अङ्कुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । तर हामीले एक अर्कालाई बुझ्न सकेनौं । विवाहको दश वर्ष पछि पनि श्रीमानले मलाई बुझ्न सकेनन् । हामीमा निश्वार्थ प्रेम थियो भन्थे तर मेरो सोच गलत रहेछ ।
(यहाँ प्रस्तुत गरिएका पात्रहरु काल्पनिक हुन् तर घटना बास्तविक हो । पुरुष पात्र यही मात्र सिमित छैन र उनका क्रियाकलापहरु यस्ता छन् जसले जो कोहिको आखाँ रसाउने छ । छोराछोरीका पिडा एकातिर छ भने महिलाको दु:ख अर्कोतिर । घटनाको विवरण लिएर फेरि आउनेछु । धन्यवाद ।)
